Hifajat

Hifajat

Jan 20, 2011

भट्टराई पक्षद्वारा पार्टी प्रशिक्षण बहिष्कार

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई र उनी पक्षधरले पार्टी प्रशिक्षण बहिष्कार गरेका छन्।

माओवादीको नेवा: र ताम्सालिङ राज्य समितिको काठमाण्डूमा आयोजित संयुक्त प्रशिक्षण उनीहरुले बहिष्कार गरेका हुन्।

गोरखाको पालुङटारमा भएको विस्तारित बैठक र केन्द्रिय समितिले तय गरेको जनविद्रोहमा जोड दिएको भनिएको कार्यदिशाबारे देशव्यापी प्रशिक्षण दिने निर्णय अनुसार उक्त कार्यक्रम आयोजना गरिएको थियो।

कारण

अध्यक्ष पुष्पकमल दाहाल लगायतका शीर्ष नेताहरु सरिक प्रशिक्षणमा उपाध्यक्ष भट्टराई गएनन्।

कारणबारे उनको फरक मतका एक समर्थन पोलिटब्युरो सदस्य नवराज सुवेदीले भने, “बाबुरामजीलाई आफ्नो फरक मत राख्न नदिने भएपछि प्रशिक्षणमा नजानु भएको हो।”

नेता सुवेदीका अनुसार नेवा: राज्य समितिकी सह-इन्चार्ज समेत रहेकी भट्टराई पत्नी यमीले विचारमा रोक लगाइएको भन्दै विरोध प्रकट गर्दा माइक बन्द गरेर बोल्न दिइएको थिएन।

त्यसपछि उनी लगायत भट्टराई पक्षधरले बहिष्कार गरेर हिंडेका थिए।

भट्टराईको फरक मतमा हस्ताक्षर गरेका नेताहरु भने प्रशिक्षणमा जाँदै गएनन्।

आफ्नो फरक मत राख्न नदिइने भएपछि बाबुरामजी प्रशिक्षणमा नजानु भएको हो

नवराज सुवेदी, पोलिटब्युरो सदस्य, एनेकपा माओवादी

चेतावनी
भट्टराई पक्षले फरक मत पेश गर्न नदिनु केन्द्रिय समितिको निर्णय विपरित रहेको दावी गर्दै त्यसमा पार्टी अडिग रहे अन्य प्रशिक्षणमा पनि आफूहरु सहभागि नहुने चेतावनी दिएको छ।

सुवेदीले भने, “आफ्नो फरक मतलाई लग्नै नदिने हो भने किन जाने?”

छताछुल्ल हुन पुगेको पछिल्लो विवादबारे माओवादीले आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

प्रवक्ता दिनानाथ शर्मासँग पनि सम्पर्क हुन सकेन।

उनले पनि भट्टराईको फरक मतमा लिखित सहमति जनाएका थिए।

तर अर्का उपाध्यक्ष मोहन वैद्य किरणले फरक मत लग्ने अलग्गै विधि निर्माण गरिएको र त्यसबारे भट्टराईसँग छलफल गरी विवाद टुंग्याइने प्रतिकृया दिएका छन्।

प्रचण्डले फरक मत प्रस्तोता किरणको विचार समेटेर परिमार्जित दस्तावेज पारित गराएका थिए।

No comments:

सिन्धुली जिल्लालाई के गरेमा आर्थिक रुपमा विकास गर्न सकिन्छ ?