Hifajat

Hifajat

Jan 20, 2011

एसएसबीद्वारा नेपाली भूमिमा ड्याम निर्माण


दसगजा क्षेत्रमा निर्माण गरिएको ड्यामको विष्बायमा जानकारी लिँदै नेपाली अधिकारी

नयाँ पत्रिका

रौतहट, ५ माघ

भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय ठेकेदारले दसगजा क्षेत्रमा नेपाली भूमिमा एकतर्फीरूपमा ड्याम र सडक निर्माण गरेेको छ । एसएसबीले एकतर्फी रूपमा भारतको बिहार राज्यसँग सीमा जोडिएको रौतहटको नरकटिया गाविसमा पर्ने दसगजा क्षेत्रमा ड्याम र सडक निर्माण सुरु गरेको हो ।

रौतहटको नरकटिया-४ मा रहेको जंगेपिलर नं. ३५५ को सय मिटर दक्षिणमा रहेको बोर्डर पिलर नं. १२मा पर्ने दसगजा क्षेत्रलाई मिचेर सडक र ड्याम निर्माण गरिएको हो । अहिले निर्माण सुरु गरिएको ड्याम दसगजा क्षेत्रमा पूरै निर्माण भए रौतहटका विभिन्न गाउँ वर्षायाममा डुबानमा पर्ने स्थानीय बासिन्दा रामदयाल साहले बताए । 'भारतीय पक्षले एकतर्फी रूपमा बनाउन सुरु गरेको ड्याम नरोक्ने हो भने वषर्ायाममा रौतहटका दर्जनौँ गाउँ डुबानमा पर्छ,' उनले भने, 'यसलाई तत्काल रोक्नुपर्छ ।' एसएसबीले एकतर्फीरूपमा ड्याम निर्माण गरेपछि सर्वसाधारण विरोधमा उत्रिएका छन् । उनीहरूले ड्यामको कारण गाउँ डुबानमा पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा जानकारी गराएपछि मंगलबार दिउँसो मध्यक्षेत्रीय रुद्रबाहिनी पथलैयाका सशस्त्र प्रहरी नायब महानिरीक्षक ऋषवदेव भट्टराई, प्रमुख जिल्ला अधिकारी गेहनाथ भण्डारी, प्रहरी उपरीक्षक पिताम्बर अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक हृदयनारायण मण्डलको टोलीले सो क्षेत्रको अवलोकन गरेर फर्केको छ । पटकपटक जानकारी गराउँदासमेत ड्याम निर्माणस्थलमा नेपाली पक्ष नगएपछि स्थानीय बासिन्दा स्वयंले रौतहट प्रशासनको विरोध गरेपछि नेपाली सो क्षेत्र पुगेको थियो ।

गत सोमबार एकै रातमा भारतीय पक्षका ठेकेदारले तीन सय मिटरको बाटो निर्माण गरेको स्थानीयबासी बताउँछन् । अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा रहेको दसगजालाई दुवै देशका सरकारले मिच्न नपाउने व्यवस्था भए पनि भारतीय पक्षले मिचेर बाटो निर्माण गर्न लागेका हुन् । स्थलगत निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी गेहनाथ भण्डारीले भारतीय पक्षले दसगजा मिचेर ड्याम निर्माण गरेको भन्दै आपत्ति प्रकट गरेका छन् । 'एकतर्फीरूपमा ड्याम निर्माण भएको छ । म यस विषयमा सम्बन्धित ठाउँमा जानकारी गराउँछु,' उनले भने । यता, भारतीय एसएसबीका हवल्दार एसबी ठाकुरले ठेक्केदारले रातिमा निर्माणकार्य गरेकोमा आफूहरू अनभिज्ञ रहेको दाबी गरे । तर, स्थानीयबासीले भने एसएसबीको संग्लनतामै सडक र ड्याम बनाइएको बताएका छन् ।

No comments:

सिन्धुली जिल्लालाई के गरेमा आर्थिक रुपमा विकास गर्न सकिन्छ ?