Hifajat

Hifajat

Jan 18, 2011

५० प्रतिशत दलित बालबालिका विद्यालयबाहिर

वीरबहादुर गिरी जाजरकोट, ४ माघ जाजरकोटका अधिकांश दलित बालबालिका विद्यालयबाहिर रहेका छन् । गरिबीका कारण दलित बालबालिका पढ्नबाट वञ्चित भएका हुन् ।
जिल्लाका ५० प्रतिशतभन्दा बढी बालबालिका विद्यालय शिक्षाबाट वञ्चित भएका छन् । दलित महिला सशक्तीकरण मञ्चले संकलन गरेको तथ्यांकअनुसार जिल्लाभरिका १३ हजार ३ सय दलित बालबालिकामध्ये ८ हजार बालबालिका विद्यालयबाहिर छन् । यस्ता बालबालिकाले परिवारको समस्या टार्न कडा परिश्रम गरिरहेको दलित महिला सशक्तीकरण मञ्चकी अध्यक्ष विष्णु नेपालीले बताइन् ।
'परिवारका सबै सदस्यले काम नगरे खाना, लाउनको गुजारा नचल्ने हुदा बालबालिका विद्यालय नगएर बालश्रम गर्न बाध्य भएका हुन्,' उनले भनिन् । उनका अनुसार, आफ्नो जग्गा नभएका कारण खलिया, हलिया पेसामा जीवन निर्वाह गर्ने र भूमिहीन तथा सुकुम्बासी दलित परिवारका बालबालिका विद्यालय शिक्षाबाट वञ्चित भएका हुन् । गरिबीका कारण उनीहरूले बालबालिकालाई विद्यालय पठाउन नसकेको दलित महिला सशक्तीकरण मञ्चको तथ्यांकमा उल्लेख छ ।
मञ्चका अनुसार, जिल्लामा ४ सय ६८ परिवार दलित, हलिया र १ हजार १ सय २६ दलित परिवार खलिया छन् । हलिया र खलिया प्रथाबाट जीवन निर्वाहमा समस्या भएकाले बालबालिकालाई विद्यालय पठाउन नसकिएको उनीहरू बताउँछन् ।
यसैगरी, ६ सय ४३ परिवार भूमिहीन र ४ सय ३० दलित परिवार सुकुम्बासी छन् । यी परिवारका बालबालिकाले पनि विद्यालयको ढोकासमेत देख्न नपाएको मञ्चकी अध्यक्ष नेपालीको दाबी छ ।
जिल्ला शिक्षा कार्यालय जाजरकोटले भने २५ प्रतिशत दलित बालबालिका मात्र विद्यालयबाहिर रहेको जनाएको छ । तर, यो तथ्यांकसँग दलित अधिकारसम्बद्ध संघसंस्थाले असहमति जनाएका छन् । 'कार्यालयको कागजी तथ्यांक हो,' राष्ट्रिय दलित नेटवर्कका अध्यक्ष करवीर चदाराले भने, 'यसमा दलित बालबालिकाको वास्तविक अवस्था छैन ।'

No comments:

सिन्धुली जिल्लालाई के गरेमा आर्थिक रुपमा विकास गर्न सकिन्छ ?